नेपालमा डिजिटल भुक्तानी अहिले दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। मोबाइल बैंकिङ, QR कोड, वालेट र इन्टरनेट बैंकिङमार्फत हामी साना–मझौला कारोबार सजिलै गर्न सक्छौं। राष्ट्र बैंकले नयाँ नियम अनुसार, मोबाइल एपमार्फत प्रतिदिन अधिकतम ३ लाख रुपैयाँ, वेब एपमार्फत २० लाख रुपैयाँ, बैंकबाट वालेटमा २ लाख रुपैयाँ र वालेटबाट बैंकमा पनि २ लाख रुपैयाँ कारोबार गर्न सकिन्छ। वालेट–वालेट कारोबारको दैनिक सीमा ५० हजार रुपैयाँ तोकिएको छ। तर, सरकारी भुक्तानी, बिल भुक्तानी, आफ्नै खातामा रकम सार्दा वा कार्डमार्फत खरिद गर्दा यी सीमाहरू लाग्दैनन्। ग्राहकलाई QR, वालेट वा कार्डमार्फत भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्दैन भने, पासवर्ड वा पिन हराएमा निःशुल्क पुनः प्राप्त गर्न सकिन्छ। त्यस्तै, USSD मार्फत प्रतिकारोबार ५ हजार रुपैयाँ र प्रतिदिन १० हजार रुपैयाँसम्म कारोबार गर्न सकिन्छ भने NFC (Tap Pay) प्रयोग गरी एक पटकमा ५ हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ।

ठूलो रकमको भुक्तानीका लागि LVPS वा RTGS प्रणाली प्रयोग गरी रु. २ लाख वा सोभन्दा माथि रकम रियल–टाइममा पठाउन सकिन्छ। सेवा समय आइतबारदेखि बिहीबार बिहान ८:३० देखि बेलुका ७:३० र शुक्रबार अपराह्न २:४५ बजेसम्म उपलब्ध छ। तत्काल नभएको भुक्तानी IPS प्रणाली मार्फत पनि गर्न सकिन्छ।

व्यवसायिक भुक्तानीका लागि कम्पनीहरूले Corporate Pay वा Inter-Bank Fund Transfer for Business मार्फत व्यापारिक भुक्तानी, कर्मचारी तलबभत्ता र सरकारी कारोबार सजिलै गर्न सक्छन्। यस्तो सेवा प्रयोग गर्न चाहने संस्थाले आफ्नो बैंक वा वित्तीय संस्थाबाट आवेदन दिनुपर्ने हुन्छ।

यी नयाँ नियमहरूले डिजिटल भुक्तानीलाई अझ सुरक्षित, व्यवस्थित र पारदर्शी बनाएका छन्। प्रयोगकर्ताले कुन माध्यममा कति सीमा छ र कुन अवस्थामा सीमा लाग्दैन भन्ने बुझेर जिम्मेवार र सजग रूपमा डिजिटल भुक्तानी गर्नु अत्यन्त महत्वपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *